प्रजातन्त्र
![]() |
एस के निधन |
****************************** **************
१. परिचय
प्रश्न- नेपालको राष्ट्रिय पोशाक के हो ?
उत्तर- थाहा छैन ।
प्रश्न-नेपालको राष्ट्रियगान कुन हो ?
उत्तर- थाहा छैन ।
प्रश्न- नेपालको जनसंख्या कति छ ?
उत्तर- थाहा छैन ।
प्रश्न- नेपालको राष्ट्रिय चरा कुन हो ?
उत्तर- थाहा छैन ।
प्रश्न- नेपालको मुख्य पेशा कुन हो ?
उत्तर- थाहा छैन ।
प्रश्न- तिमीलाई मन पर्ने देश ?
उत्तर -स्विजरल्यान्ड ।
प्रश्न- तिमीलाई मन पर्ने गीत ?
उत्तर- जनगनमन.....भारतमाता ।
प्रश्न- साँच्चि तिमी को हौ त ?
उत्तर- नेपाली ।
प्रश्न- के छ प्रमाण ?
उत्तर- नेपाली नागरिकताको प्रमाणपत्र ।
२. नीति तथा कार्यक्रम
*************************
सम्माननीय प्रधानमन्त्री सेवाप्रसादको जन्मदिनको अवसरमा आयोजित गरीबहरुका लागि भोज समारोहबाट अलि पर बसेको एकजना भिकारीलाई भनियो, ‘भाइ ! आज पनि के भिख मागिराख्या ? तिमीहरुकै लागि यति ठूलो भोजको आयोजना भैरहेको छ । जाऊ न गएर टन्न खाऊ ।’ आफ्नो मैलो कट्कटिएको र धुजाधुजा परेको कपडालाई मायालु आँखाले नियाल्दै उसले जवाफ दियो, ‘खै ! राष्ट्रिय पोशाक नलगाएकालाई प्रवेश निषेध भनेका छने रे ।’
३. सरकारी सेवा
****************************** *
--------ल, अब चिल्लो, पिरो, अमिलो प्रशस्त खाने, पानी कम पिउने ।
---------मलाई खास के भएको रहेछ डाक्टर सा’ब ?
----------अल्सर ।
----------यी खानेकुरा किन त ?
----------तपाईँको अल्सर बिगारेर क्यान्सर बनाउन ।
---------हैन हजुर, म त उपचार गर्न आएको ।
---------म उपचारकै क्रममा छु ।
-----------कसरी ?
------------ हाम्रोमा क्यान्सरको मात्रै औषधि छ ।
४. चुनाव
***********************
चुनावको प्रचारप्रसारको क्रममा गाउँ पसेका एक युवा नेताले सपना बाँडे, ‘आदरणीय आमा, बुबा तथा दाजुभाइहरु, मलाई जिताउनुभयो भने म यो देशलाई सिङ्गापुर बनाइदिन्छु ।’
भाषणको समाप्तिपश्चात एकजना बूढामान्छेले जिज्ञासा राखे, ‘ए बाबु ! सिङ्गापुर बनाउँछु त भन्यौ, तर त्यो सिङ्गापुर भन्ने ठाउँ कहाँ छ ?’ एकछिन अल्मलिँदै युवा नेताले भने, ‘ए, बालाई थाहा छैन ? त्यही के, परवानीपुर र जीतपुरको बीचमा ।’
५. जनचेतना
**********************
—हामी सम्पूर्ण कामीहरुले पण्डित रामजीप्रसादको पानी बार्नुपर्छ ।
-----------------किन ?
—उसको छोराले वादीको घरमा गोरस र मकै खायो ।
-----------------के भो त ?
—कामी र वादीको पानी चल्दैन ।
------------के भो त ?
—लौ, यी लाटाहरुले कुरै बुझेनन् ।
६. राजनैतिक गोप्यता
*************************
—तँलाई थाहा छ, रामले कहिलेकाहीँ चुरोट खान्छ नि
होइन होला ।
—हो भन्या ।
तिमीलाई कसरी थाहा भयो ?
—मलाई उसले सबै कुरा भन्छ ।
खै ! मलाई त भन्दैन त ।
—तिमीलाई विश्वास गरेन होला ।
तिमीलाई कसरी ग¥यो त ?
—गरिहाल्छ नि । म उसको सबै कुरा गोप्य राख्छु ।
७. राष्ट्रनिर्माण
*****************************
खाना पकाउने विषयमा भएको लामो समयसम्मको बहस र चर्को विवादपछि श्रीमान श्रीमती सहमतिमा पुगे सहकार्यको । श्रीमानले दाउरा खोजेर ल्यायो । श्रीमतीले आगो फुकी । श्रीमतीले कसौडी माझेर ल्याई । श्रीमानले खरानी लगाएर आगोमा बसाल्यो । श्रीमतीले पानी हाली । श्रीमानले चामल हाल्यो । एवम् रीतले भान्सा तयार पारे र स्वादिष्ट भोजनको लागि श्रीमानश्रीमती बसे ।
बिडम्बना, भात अलि गिलो भएछ । श्रीमानले श्रीमतीलाई झपा¥यो, ‘कति धेरै पानी हालेका ? अड्कल्न पनि आउँदैन ?’ श्रीमती किन पछि पर्थी र ? उफ्रीहालि, ‘तिमीले चामल धेरै हाल्या भए पनि त हुन्थ्यो ।’
झगडाले यति विकराल रुप लियो । दुबैजना भोकै सुते ।
८. प्रजातन्त्र
**************************
—आमा भोक लाग्यो ।
बाबु, खाजा खाऊ ।
—खोइ खाजा ?
घरभित्र छ ।
—खोइ घर ?
बैंकले खायो ।
—खै बैंक ?
नेताले डुबायो ।
—खोइ नेता ?
अख्तियारले समायो ।
—खोइ अख्तियार ?
खारेज भो ।
No comments:
Post a Comment